हेटौंडा । हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा र अन्य संरचना भोलिदेखि भत्काइने भएको छ ।
सडक डिभिजन कार्यालय हेटौंडाले सार्वजनिक सूचना जारी गर्दै भोलिदेखि सडक विस्तार कार्य औपचारिक रूपमा सुरु हुने जानकारी गराएको छ । सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार संरचना हटाउने सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
अधिकारीले भने, “भोलिदेखि हामी राप्ती पुल र रातोपाटीतर्फ विस्तारको दायरा बढाउँदै लैजान्छौँ । २५ वटा डोजर र २५ वटा अन्य मेसिन परिचालन गर्ने तयारीमा छौँ ।”
उनका अनुसार सडक विस्तारसँगै निर्माण भइरहेको बाइपास सडक पनि अन्तिम चरणमा पुगेको छ। विस्तार कार्य संवेदनशील मानिँदै सुरक्षा निकायले साइट क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्ने तयारी गरेको छ ।
सडक विस्तारको सूचना सार्वजनिक भएको केही दिनमै बजार क्षेत्र तनावग्रस्त बन्दै गएको छ। २५/२५ गजभित्र पर्ने संरचनाधनीहरू आन्दोलित छन् भने स्थानीय तहमा पनि दबाब बढिरहेको छ ।
सरकारले सडक विस्तारलाई दीर्घकालीन यातायात व्यवस्थापनका महत्वपूर्ण पूर्वाधारका रूपमा अघि बढाएको उल्लेख गर्दै, डिभिजन कार्यालयले सबै प्रक्रियाहरू कानुनी दायराभित्र रही सम्पन्न गरिने जनाएको छ ।