रौतहट । आम जनता पार्टी (आजापा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले पछिल्लो समय लागू गरेको 'कर आतंक'का कारण मुलुकको अर्थतन्त्र नै ध्वस्त भएको आरोप लगाएका छन् ।
बिहीबार गौरमा आयोजित रौतहट क्षेत्र नं. २ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले कर आतंकका कारण सर्वसाधारणदेखि उद्योगी–व्यापारी सबै त्रासमा परेको दाबी गरे। उनले हरेक क्षेत्रमा मनपरी कर थोपरेर सरकारले नागरिकलाई लुटिरहेको आरोप लगाए ।
अध्यक्ष साहले भने, “सरकारको मनोमानी कर आतंकका कारण महँगी चुलिएको छ। भारत र चीन जस्ता विशाल देशमा समान सस्तो पाइन्छ, तर नेपालमा त्यही वस्तु महँगो पर्नु सरकारको करमाथि कर लगाउने प्रवृत्तिको परिणाम हो। भारतमा दुई लाखमा पाइने मोटरसाइकल नेपालमा किन पाँच लाख तिर्नुपर्ने ?”
सिमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कमजोर हुनुका साथै करछलीको नाममा सरकारले निजी सम्पत्तिमै धावा बोलिरहेको गम्भीर आरोप पनि उनले लगाए। उनले थपे, “गाउँ–सहरदेखि सिमावर्ती बस्तीका नागरिक कर आतंकले पीडित छन् । उद्योग–व्यापार चौपट हुने अवस्थामा पुगेको छ ।”
कार्यक्रमबाट उमाशंकर साहको नेतृत्वमा ९५२ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको आजापा रौतहटले जानकारी दिएको छ ।