सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शनिबार बिहान नेपाल प्रेस युनियन सर्लाहीले सदरमुकाम मलंगवामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै महामन्त्री थापाले नयाँ नीति, नयाँ सन्देश र नयाँ नेतृत्वको आवश्यकता औंल्याउँदै आफू सभापति पदका प्रत्यासीको रूपमा सामना गर्न तयार रहेको बताए ।
थापाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि नै पार्टीलाई महाधिवेशनतर्फ लैजानुपर्ने परिस्थिति बनेको उल्लेख गरे । केही समय छलफलमा बिते पनि अब छोटो अवधिमै महाधिवेशन समाप्त गरी पार्टी चुनावमा उत्रिने बताउँदै उनले महाधिवेशन र निर्वाचन तयारी सँगसँगै अघि बढाइएको जानकारी दिए ।
उनका अनुसार फागुन २१ मा निर्वाचन गराउनेतर्फ वर्तमान सरकार प्रतिबद्ध रहेको र यसले संविधानमाथि थप क्षति हुन नदिने विश्वास व्यक्त गरे । “दलहरू तयार भइसकेका छन्, अब सरकार सम्पूर्ण संशय हटाएर चुनावतर्फ स्पष्ट कदम चाल्नुपर्छ,” उनले भने ।
थापाले जेन–जी आन्दोलनपछि फरार रहेका कैदीबन्दी र लुटिएका हतियार चुनावका लागि चुनौती बन्न सक्ने विषयमा सरकारलाई अवगत गराइसकिएको पनि बताए। साथै, सबै समूह र राजनीतिक दललाई चुनावमा सहभागी हुन दिने वातावरण निर्माण गर्नुपर्ने माग प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राखिएको उल्लेख गरे ।
आगामी प्रतिनिधिसभा चुनावबारे बोल्दै थापाले यसपटक पनि काठमाडौंबाटै चुनाव लड्ने बताए । सर्लाही–४ बाट प्रतिस्पर्धा गर्न प्रस्ताव आए पनि परम्परागत रूपमा आफ्नै क्षेत्रबाट चुनाव लड्ने चलन रहेकाले आफू काठमाडौं क्षेत्रबाटै निरन्तर उम्मेदवार रहने जानकारी दिए ।