सर्लाही । सर्लाहीको लालबन्दीबाट ५२ केजी लागुऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । लालबन्दी नगरपालिकाको चुरेवर्ती क्षेत्र, वडा नं. १४ नारायणखोलाका २५ वर्षीय गंगाबहादुर वाइवा ठूलो मात्रामा लागुऔषध लिएर आउँदै गर्दा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनी बा १२ च ४७१० नम्बरको पिकअप भ्यानमा गाँजा लोड गरी लालबन्दी बजारतर्फ आउँदै गर्दा लालबन्दी नगरपालिका–११, हिरापुरबाट पक्राउ गरिएको हो । पछिल्लो समय सो क्षेत्रमा लागुऔषध ओसारपसार बढिरहेका अवस्थामा प्रहरीले निगरानी कडाइ गरेको बताएको छ ।
इन्स्पेक्टर भीरेन्द्रसिंह जोहारीको नेतृत्वमा परिचालित टोलीले गाडीको चालक सिट मुनी बनाइएको ‘फल्स बटम’बाट लुकाइएको गाँजा बरामद गरेको हो । वाइवालाई सर्लाही जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
यसअघि पनि लालबन्दी प्रहरीले मंसिर १ गते लालबन्दी नगरपालिका–६, शिव मन्दिर क्षेत्रबाट ३८ केजी ८९० ग्राम गाँजा बरामद गरी एक जनालाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार लागुऔषध नियन्त्रण अभियानलाई अझ कडाइका साथ अघि बढाइएको छ ।