मकवानपुर । हेटौँडा सडक विस्तारको क्रममा मकवानपुर उद्योग वाणिज्य संघको कार्यालय समेत भत्काइएको छ । त्रिभुवन राजपथको सडक सिमाभित्र पर्ने भएकाले सडक डिभिजन कार्यालय हेटौँडाले संघको कार्यालय आज (शुक्रबार) बिहानबाट जग्गा खाली गराउँदै भत्काएको हो ।
हेटौँडा बजार क्षेत्रमा २५ मिटर सडक विस्तारको तयारीसहित संरचना हटाउने कार्य बिहानैदेखि सुरु गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । राप्ती रोडस्थित हेटौँडा–१० क्षेत्रबाट जेसीबी प्रयोग गरी सार्वजनिक तथा निजी संरचना क्रमिक रूपमा हटाइएका छन् ।
सडक विस्तारका क्रममा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेकाले प्रशासनिक काम सहज रूपमा अघि बढेको अधिकारीहरूले बताएका छन् । महेन्द्र राजमार्ग र त्रिभुवन राजपथसँग जोडिएको करिब ९.५ किलोमिटर क्षेत्रमा पर्ने संरचनाहरू चरणबद्ध रूपमा हटाइने जनाएको छ ।
सडक विस्तारका कारण स्थानीय व्यवसायी र संस्थाहरूमा मिश्रित प्रतिक्रिया देखिएको छ भने प्रशासनले भने कानुनअनुसारको कारबाही भएको स्पष्ट पारेको छ ।


