जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ । सात दलको समर्थनमा शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
प्रदेश प्रमुखको सचिवालयका अनुसार शपथग्रहण आइतबार बिहान १०:३० बजेका लागि तय गरिएको छ। शपथपछि नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने छ ।
नेकपा एमालेका सरोज यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ नेतृत्व चयन गर्न कांग्रेसका कृष्ण यादव र लोसपा नेपालका जितेन्द्र सोनल दुवैले दाबी पेस गरेका थिए । लामो छलफल र समन्वयपछि सात दलले यादवको नेतृत्वमा सहमति जनाउँदै उनको पक्षमा एकमत भएका हुन् ।