महोत्तरी । प्रहरीले ब्राउन सुगर ओसारपसारको आरोपमा एक बालिकासहित दुई जनालाई बर्दिबासबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा जलेश्वर नगरपालिका–६ का २६ वर्षीय मोटरसाइकल चालक बिक्कीकुमार मिश्र र पछाडि सवार १६ वर्षीया नेहा परियार रहेको प्रहरीले जनाएको छ । परियार पोखरा घर भइ हाल जनकपुर उपमहानगरपालिका–२२ मा बस्दै आएकी हुन् ।
बर्दिबासस्थित लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय र इलाका प्रहरी कार्यालय बर्दिबासको संयुक्त टोलीले विशेष सूचनाका आधारमा दुवैजनालाई ४७ ग्रामभन्दा बढी ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
ब्यूरो प्रमुख सरोज अधिकारीका अनुसार शुक्रबार साँझ ५:३० बजे बर्दिबास नगरपालिका–१ स्थित राष्ट्रिय वाणिज्य बैंक अगाडिको भित्री सडकखण्डमा गौरीडाँडातर्फ जाँदै गरेको प्रदेश २–०२–००५ प ३१५९ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा दुवै जना नियन्त्रणमा परेका थिए ।
चेकजाँचका क्रममा परियारका हातमा बोकेको सेतो प्लास्टिकको झोलामा चकलेटको बट्टाभित्र लुकाइएका दुई वटा सेतो प्लास्टिकका प्याकेट फेला पारिएको थियो । तौल गर्दा प्लास्टिकसहित ५२.८५० ग्राम र शुद्ध ब्राउन सुगर ४७.६२० ग्राम रहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको लागुऔषध तथा मोटरसाइकलसहित दुवैजनालाई आवश्यक कारबाहीका लागि शुक्रबार राति नै इलाका प्रहरी कार्यालय बर्दीबासमा बुझाइएको ब्यूरो प्रमुख अधिकारीले जानकारी दिए ।