रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोतियाही पुल नजिक भएको सवारी दुर्घटनाका मृतकका आफन्तले शनिबार दिउँसोदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
शुक्रबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि पीडितका आफन्तले क्षतिपूर्ति माग्दै सडक अवरुद्ध गरेको बताइएको छ ।
घटनामा चन्द्रपुर नगरपालिका–६ स्थित मोतियाही पुल नजिक चपुर–गौर खण्डमा गौरबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल ठोक्किँदा वृन्दावन नगरपालिका–२, विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको थियो ।
दुर्घटनापछि मृतकका परिवार र बस सञ्चालकबीच क्षतिपूर्तिको विषयमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा छलफल भएको थियो । तर बसधनीले कानुनले तोकेको भन्दा बढी रकम नदिने अडान राखेपछि मृतकका परिवारले राजमार्ग ठप्प पारेका हुन् । यसका कारण चन्द्रनिगाहपुर चोकमा सयौं सवारी साधन अलपत्र परेका छन् । पीडितका आफन्तले सडकमा टायर बालेर विरोध जनाएका छन् ।





