जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले मधेसी जनताको अधिकार सुनिश्चित गर्न मधेसवादी दलहरू सक्षम नभएको दाबी गरेका छन् । उनले भने, मधेसीको अधिकार सम्पन्न गर्न सक्षम दल केवल नेकपा मात्र रहेको छ ।
शनिबार जनकपुरमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै श्रेष्ठले देशका सम्पूर्ण कम्युनिस्ट शक्तिलाई एकताबद्ध हुन आह्वान गरे । उनले वर्तमान एकतालाई केवल प्रस्थान बिन्दु मात्र भएको उल्लेख गर्दै सबै कम्युनिस्टहरू एक हुनुको विकल्प नभएको स्पष्ट पारे । “यो सभा एकताको सन्देश मात्र नभई संकल्पको पनि सभा हो,” उनले भने । श्रेष्ठले आसन्न चुनावमा विजय हासिल गर्न यही संकल्प आवश्यक रहेको पनि बताए ।
श्रेष्ठले देशको समृद्धिका लागि आवश्यक परे संविधान संशोधन गर्नुपर्नेमा जोड दिँदै विकास र समाजवादको विकल्प नभएको धारणा राखे । प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप अधिकारका लागि अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
साथै उनले मधेस, पहाड र हिमाललाई एकताबद्ध गर्न नसकिए नेपालको राष्ट्रिय एकता र समृद्धि हासिल गर्न कठिन हुने बताए । “पार्टी एकता गरेर मात्र पुग्दैन, पार्टीलाई नीति र विधिमा चलाउनुपर्छ,” उनले भने, “नेताहरूलाई न्यायपूर्ण जिम्मेवारी दिनुपर्छ र पार्टी एकताबाट जनताले त्यसको अनुभूति गर्न पाउनुपर्छ ।”