वीरगंज । थारु कल्याणकारी सभा पर्साको नवौं साधारण सभा सखुवा प्रसौनी गाउँपालिका–१, औराहा पचगावामा ‘संगठन एकताको लागि, एकता समुदाय विकासको लागि’ भन्ने मूल नाराका साथ शनिबार भव्यताका साथ सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै केन्द्रीय सदस्य महेन्द्र चौधरीले थारु समुदायको हकअधिकार सुनिश्चित गर्न संगठनलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले भने, “हाम्रो समुदायको विकास र पहिचानको लडाईंमा एकता नै सबैभन्दा ठूलो शक्ति हो । शिक्षा र राजनीतिक चेतना मार्फत हामी अघि बढ्नुपर्छ ।”
पूर्व सांसद जयप्रकाश थारुले थारु समुदाय राज्यको मूलधारबाट अझै पनि पछाडि रहेको उल्लेख गर्दै आर्थिक र सामाजिक रूपान्तरणका लागि बालबालिकाको शिक्षामा विशेष जोड दिनुपर्ने र राजनीतिक रूपमा संगठित हुनुपर्नेमा जोड दिए ।
थारु कल्याणकारी सभा पर्साका अध्यक्ष भागवत चौधरीले संस्थाले पारदर्शी रूपमा काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा धर्मशाला निर्माण र समुदायको हितका लागि अझ सशक्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिका–१ का वडाध्यक्ष बासुदेव महतो, थारु कल्याणकारी सभा पर्साकी महिला सदस्य एवं पर्सागढी नगरपालिकाकी पूर्व उपमेयर अर्चना चौधरी, उपाध्यक्ष मोहन चौधरी, ठाकुरराम बुहुमुखी क्याम्पसका प्राध्यापक कृपा सिन्धु चौधरी लगायतको पनि उपस्थिति रहेको थियो ।
संस्थाका सचिव मनोज महतोले कार्यक्रमको सहजीकरण गरेका थिए भने दिपनरायण आदर्श नमुना मावि औराहा पचगावाका प्रधानाध्यापक शिवनाथ चौधरीको विशेष योगदान रहेको स्थानीय सञ्चारकर्मी रामकिशोर चौधरीले जानकारी दिए ।