रौतहट । रौतहटको गौर–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत चन्द्रपुर–६ मोतियाही पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सुरु गरिएको राजमार्ग अवरुद्ध प्रहरीले बल प्रयोग गरी तीन घण्टापछि खुलाएको छ ।
शुक्रबार बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा वृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय मोटरसाइकल चालक नागेन्द्र पटेलको चन्द्रपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मोटरसाइकलमा सवार उनका तीन जना छोराछोरी घाइते भई अहिले वीरगञ्जमा उपचाररत छन् ।
मृतकका पक्षले क्षतिपूर्ति र दोषीमाथि कडा कारबाहीको माग गर्दै शनिबार चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालय नजिक पूर्व–पश्चिम राजमार्ग टायर बालेर अवरुद्ध गरेका थिए । स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले माइकिङ गर्दै भीड तितरबितर पारी सडक सुचारु गराएको प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले जानकारी दिए ।
दुर्घटनापछि चन्द्रपुर क्षेत्र केही समय तनावग्रस्त बनेको थियो । दुर्घटनामा संलग्न बस तथा बस चालक चन्द्रपुर–८ का ४५ वर्षीय अमृतबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।