नवगठित मधेश प्रदेश सरकारले नेकपा एमाले नेतृत्वमा गठित अघिल्लो मन्त्रिपरिषद्ले गरेको सम्पूर्ण निर्णय खारेज गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको नयाँ मन्त्रिपरिषद् बैठकले कात्तिक २३ गतेदेखि मंसिर १७ गतेसम्म बसेका मन्त्रिपरिषद् बैठकका सबै निर्णयहरू अमान्य ठहर गरेको हो । नयाँ सरकारका अनुसार पूर्वमुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको क्याबिनेटले गरेका सबै प्रकारका सरुवा, काज, जिम्मेवारी हेरफेर, थप जिम्मेवारी तोक्ने तथा नियुक्तिसम्बन्धी निर्णयहरू तत्कालदेखि बदर गरेका छन् । संविधानको धारा १६८(३) अनुसार ठूलो दलको नेताका रूपमा कात्तिक २३ गते राति यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।
मंसिर १५ गते सर्वोच्च अदालतले नयाँ सरकार गठनका लागि परमादेश जारी गरेपछि पनि अघिल्लो सरकारले केही नियुक्ति तथा कर्मचारी सरुवासम्बन्धी निर्णयहरू गरेको थियो । ती सबै निर्णयहरू अब खारेज भएका छन् ।

सरकारको औपचारिक निर्णयमा भनिएको छ, “मिति २०८२/०७/२३ देखि २०८२/०८/१७ सम्मका मन्त्रिपरिषद् बैठकबाट भएका सबै सरुवा, काज, जिम्मेवारी हेरफेर तथा थप जिम्मेवारी तोक्ने निर्णयहरू र सो अवधिमा विभिन्न मन्त्रालय तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत भएका सम्पूर्ण प्रशासनिक निर्णयहरू बदर गरिन्छ ।”
यसैबीच, मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका प्रदेश सचिव जयकुमार घिमिरेलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ । घिमिरेले प्रशासनिक तथा आर्थिक अधिकारसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सम्हाल्नेछन् ।
बैठकले सामाजिक क्षेत्रसँग सम्बन्धित केही महत्वपूर्ण निर्णयहरू पनि गरेको छ । कडा रोगको श्रेणीमा रहेका क्यान्सर, मिर्गौला र मुटुरोगलगायतका गम्भीर रोगबाट पीडित बिरामीहरूलाई दिइँदै आएको औषधोपचार सम्बन्धी आर्थिक सहायता कार्यक्रमलाई निरन्तरता दिने र आवश्यकता परे चालु आर्थिक वर्षमै थप बजेट व्यवस्थापन गर्ने निर्णय सरकारले गरेको छ ।

त्यस्तै, प्रदेशका विभिन्न जिल्लामा बाढी, डुबान, आगलागी तथा शीतलहरको जोखिम बढ्दै गएको सन्दर्भमा सम्भावित विपद् न्यूनीकरणका लागि पूर्वतयारी, उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई थप प्रभावकारी र सुदृढ बनाउने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ ।
नवगठित सरकारका यी निर्णयले प्रशासनिक व्यवस्थापनलाई पुनः व्यवस्थित गर्ने र सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्य लिएको बताइन्छ ।