जनकपुरधाम उप–महानगरपालिका वडा नम्वर १४ मा गुठीका जग्गा कव्जा गर्नेलाई मधेश प्रदेश सरकारको मन्त्री बनाइएको छ ।
जनकपुरधाम–१४ मुजेलियामा गुठीको जग्गा कव्जा गर्ने नेपाली कांग्रेसका मधेश प्रदेश सभासद जंगिलाल यादवलाई विस्तार भएको मधेश प्रदेश सरकारमा विना विभागिय मन्त्री बनाइएको हाे । जनकपुरधाम उप–महानगरपालिका वडा नं. १४ स्थित मुजेलियामा गुठीको जग्गा कव्जा गर्ने विवादका कारण चर्चित प्रदेश सभासद जंगिलाल यादवलाई मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको रुपमा नियुक्त गरिएको छ ।
स्थानीय स्रोतका अनुसार, यादवले मुजेलिया प्रहरी कार्यालय नजिकको ६ कठ्ठा ५ धुर ३ कन क्षेत्रफलको गुठीको जग्गा माटोले ढाकेर स्थायी संरचना निर्माण गरेका छन् । यो जग्गा पुजारी रामसागर दाससँग वार्षिक ४० किलो धान मनखपमा ४ कठ्ठा एक धुर जग्गा खरिद गरी बनेको करारनामा उल्लेख छ । बाँकी डेढ कठ्ठा जग्गा भने पुजारीले ज्ञानकुमार यादवलाई बेचेका छन् ।
जग्गा खरिदको करारनामा उल्लेख छ कि पुजारीको मृत्यु भएपछि उत्तराधिकारीले पनि उक्त जग्गामा कुनै बाधा नपुर्याउने सहमति छ। स्थानीयले जग्गाको मूल्य करिब दुई करोड रुपैयाँ मूल्य पर्ने बताएका छन् । यो जग्गा सर्लाही क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्य जितेका जंगिलाल यादवका छोरा अमितकुमार यादवको नाममा २०६८ फागुन १६ मा करारनामा गरिएको थियो ।
स्थानीयवासी र प्रशासनिक स्रोतका अनुसार, जग्गा कव्जा र विवादले समुदायमा ठूलो ध्यानाकर्षण पाएको छ । यसैबीच, यादवको मन्त्री नियुक्तिले विवादलाई अझ राजनीतिक आयाम दिएको छ ।