सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ त्रिभुवन नगर नजिकबाट स्रोत नखुलेको ठूलो परिमाणको नेपाली नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
आइतबार दिउँसो गस्तीमा रहेको प्रहरीले भारतबाट नेपाल प्रवेश गर्दै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा नगद रकम फेला पारेको हो । पक्राउ पर्नेमा भारत, बिहार, सितामढी, सोनवर्सा–२ का २९ वर्षीय धर्मेन्द्र महतो रहेका छन् । भारतीय नम्बरको बीआर ३० वाइ ३२८७ नम्बरको मोटरसाइकलमा सवार महतोको साथबाट १२ लाख २९ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, रकमको स्रोत खुल्न नसकेपछि महतोसहित मोटरसाइकल र नगद नियन्त्रणमा लिइएको छ ।
उनीहरूमाथि थप अनुसन्धान गर्न सर्लाही जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरीले जनाएकाे छ ।