सिरहा । सङ्घीय सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आगामी चुनावपछि युवाहरुको नेतृत्वमा बन्ने सरकारबाट मात्र देशमा वास्तविक परिवर्तन सम्भव हुने बताएका छन् ।
गृहजिल्ला सिरहा आइपुगेका मन्त्री गुप्ताले चिसोबाट जोगाउन तीन सामुदायिक विद्यालयका बालबालिकालाई न्यानो ज्याकेट वितरण कार्यक्रमका क्रममा यस्तो धारणा व्यक्त गरेका हुन् । हाल गठन भएको चुनावी सरकारको मुख्य दायित्व चुनाव सम्पन्न गराउनु मात्रै भएको उल्लेख गर्दै उनले जनताको चाहना अनुसार काम गर्ने संरचना चुनावपछि बन्ने दाबी गरे ।
जेनजी आन्दोलनका सहिद विजय चौधरीको गाउँ— लहान नगरपालिका–१५ ढोडना स्थित राजदेवी आधारभूत विद्यालयका कक्षा पाँचसम्मका ९५ विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गर्दै मन्त्री गुप्ताले भने, “सामुदायिक विद्यालयलाई सुरक्षित आवाससहित प्राविधिक विद्यालयमा रूपान्तरण गर्ने, दलित–विपन्न समुदायलाई शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी दिलाउने तथा भ्रष्टाचारमुक्त देश निर्माण हाम्रो लक्ष्य हो ।”
फागुन २१ गतेका लागि तोकिएको चुनावमा युवा नेतृत्वलाई अवसर दिन सबैलाई आग्रह गर्दै उनले थपे, “हामी मन्त्रालयमा एउटा तस्बिर झुण्ड्याउन सरकार गएको होइन, सुन्दर देश बनाउने सपना साकार पार्न परिवर्तनको पक्षमा उभिएका हौँ ।”
स्वरस् एक्सन नेपालले उपलब्ध गराएको तीन सय थान न्यानो ज्याकेट मन्त्री गुप्ताले लहान–१५ को राजदेवी आधारभूत विद्यालय, लहान–२ को भानु आधारभूत विद्यालय र सखुवानन्कारकट्टी–४ को जनता आधारभूत विद्यालय खैरबोना गरी तीन विद्यालयका बालबालिकालाई वितरण गरेका थिए ।