वीरगंज । वीरगंजबाट भारतीय प्रहरीले नेपाल प्रहरीलाई जानकारी नदिई एक नेपाली युवकलाई पक्राउ गरी भारत लगेकाे घटना सार्वजनिक भएको छ ।
शनिबार राति भारतीय नम्बरकाे गाडीमा आएका सादा पोशाकका भारतीय सुरक्षाकर्मीले पर्साको सखुवा प्रसौनी गाउँपालिका–५, खजुरियाका मेघराज साहलाई वीरगंजबाट नियन्त्रणमा लिएर भारत पुर्याएको परिवारजनले आरोप लगाएकाे छ ।
परिवारजनका अनुसार तीन जना भारतीय प्रहरी शनिबार राति भारतीय नम्बरको थार गाडीमा खजुरिया गाउँ पुगेका थिए। साह त्यहाँ फेला नपरेपछि उनीहरू वीरगंज–१३ राधेमाईस्थित साह बस्दै आएको घरमा पुगेका थिए । त्यही घरबाट भारतीय टोलीले साहलाई नियन्त्रणमा लिएर भारततर्फ लगेकाे परिवारका सदस्यले बताएका छन् ।
स्थानीय स्रोतका अनुसार केही दिनअघि भारतमा ५० किलोभन्दा बढी चरेससहित एक व्यक्ति पक्राउ परेका थिए । पक्राउ परेकाहरूले दिएको बयानका आधारमा भारतीय प्रहरीले मेघराज साहलाई पक्राउ गरेको बताइएको छ । तर भारतीय सुरक्षाकर्मीले यसबारे नेपाल प्रहरीसँग कुनै समन्वय नगरेको स्रोतको दाबी छ ।
यो घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले नेपाल प्रहरीले कुनै जानकारी नपाएको बताए । “यदि भारतीय प्रहरीले मान्छे पक्रेर लगेका भए हामीलाई खबर हुनेथियो । सायद यो खबर गलत पनि हुन सक्छ,” डीएसपी बस्नेतले बताए ।
शनिबार राति पक्राउ गरेर लगेको हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्चयाइएको छ । - सम्पादक