पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साको विद्युतीय अपराध अनुसन्धान शाखाले २० वर्षदेखि मानव बेचबिखन (जिउ मास्ने बेच्ने) सम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा मङ्गलबार साँझ वीरगन्ज महानगरपालिका–९ स्थित सडकखण्डबाट वर्ष ४० का सुरेश प्रसाद कलवार नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बिन्दबासिनी–६ बस्ने बृजेश प्रसाद कलवारले दर्ता गराएको जाहेरीका आधारमा नेपाल सरकारले दायर गरेको मानव बेचबिखनसम्बन्धी कसुर मुद्दामा सुरेश प्रसाद कलवार संलग्न थिए । घटनापछि उनी २० वर्षदेखि फरार रहेका थिए। उनीलाई पर्साबाट खटिएको प्रहरी टोलीले मिति २०८०।८।११ गते साँझ नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका कलवारविरुद्ध आवश्यक थप अनुसन्धान अघि बढाइएको छ ।