उखु किसानले अनुदान पुनःस्थापना र न्यूनतम समर्थन मूल्य कायम गर्न माग गर्दै आन्दोलन बढाएपछि चालु क्रसिङ सिजन (०८२/८३) मा देशभरका चिनी मिल सञ्चालन प्रभावित भएका छन् ।
गत वर्ष समयमै चलेको महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिल यस वर्ष आन्दोलनका कारण पुसतिर मात्रै सञ्चालन हुने सम्भावना देखिएको छ । हाल सुनसरीदेखि कञ्चनपुरसम्म रहेका १३ वटा चिनी मिल उखु क्रसिङ सुरु गर्ने प्रतीक्षामा छन् ।
उखु उत्पादक कृषक महासङ्घका केन्द्रीय सदस्य महाशङ्कर थिङका अनुसार उखुमाथि दिइने अनुदान ७० रुपैयाँबाट ३५ रुपैयाँमा घटाइनु अन्यायपूर्ण छ । किसानले प्रति क्विन्टल ७५० रुपैयाँ न्यूनतम समर्थन मूल्य माग गर्दै आएका छन् ।
नेपालमा वार्षिक करिब ३० लाख क्विन्टल चिनी खपत हुने भए पनि स्वदेशी उत्पादन १९–२० लाख क्विन्टलमै सीमित छ । उखु अभावका कारण मिलहरू क्षमता अनुसार सञ्चालन हुन नसकेको उद्योग पक्षको भनाइ छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मङ्सिर २९ गतेभित्र समाधान गर्ने आश्वासन दिए पनि आन्दोलन समाधान नहुँदासम्म क्रसिङ कहिले सुरु हुने हो भन्ने अन्योल कायमै छ ।