रौतहट | मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेशमा रहेका बेथितिहरू हटाएर सिस्टममा ल्याउने र सुशासन कायम गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
नेपाली कांग्रेस रौतहटद्वारा सोमबार गौरमा आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री यादवले मधेश प्रदेशमा चुनौतीको चाङ्ग रहेको उल्लेख गर्दै, हरेक चुनौतीको सामना गर्दै प्रदेशको विकासका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले विकास निर्माणमा रोकिएका योजना अगाडि बढाउने, नयाँ योजना र नयाँ रणनीति ल्याउने र मधेश प्रदेशका नागरिकले महसुस गर्न सक्ने प्रकारका काम गर्ने बताएका छन् । मुख्यमन्त्री यादवले कृषिलाई मुख्य प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा सरकारले दिनरात काम गरेर सकारात्मक प्रतिफल दिने आश्वासन पनि दिनुभयो ।
मुख्यमन्त्री यादवले वर्तमान सात दलिय गठबन्धन बलियो रहेको र आगामी निर्वाचनसम्म गठबन्धन एकजुट रहने दाबी गर्दै, मन्त्रिपरिषद् विस्तारको निर्णय एक्लै नगरी गठबन्धनसँग छलफल गरेर चाँडै टुङ्ग्याउने जानकारी दिनुभयो ।