सिरहा । सिरहा–धनुषा जोड्ने महत्वपूर्ण कमला नदीमा जनस्तरबाट पुल पुनर्निर्माण अभियान सुरु भएकाे छ । यसका लागि सिरहाको औरही नगरपालिकाले एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
मधेश प्रदेशको ‘जीवन रेखा’ मानिने कमला नदीमा बनेको पुल सञ्चालनमा नआउँदै भासिएको चार वर्षपछि पुनर्निर्माणका लागि गाउँपालिका अध्यक्ष शिवजी यादवले आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
यसअघि, हुलाकी सडक निर्माण अभियन्ता तथा वरिष्ठ लेखक रामरिझन यादवले जनस्तरबाटै चन्दा संकलन गरेर पुल निर्माण अभियान थाल्नुभएको थियो । ‘‘सरकारबाट कुनै पहल नदेखिएपछि जनता आफैं उठ्नुपरेको हो,’’ अभियन्ता यादवले बताउनुभयो। उहाँको पहलमा विष्णुमहायज्ञ गरी थप सहयोग संकलन गर्ने तयारी भइरहेको छ ।
मन्त्री घिसिङको स्थल निरीक्षण
मङ्सिर ५ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले कमला पुलको निरीक्षण गर्नुभएको थियो । पुल मर्मत गरेर सञ्चालनमा ल्याउने कि नयाँ पुल निर्माण गर्ने भन्ने विषयमा प्राविधिक निष्कर्ष निकालेर समस्या समाधान गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
निरीक्षणकै क्रममा अभियन्ता रामरिझन यादवले मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र बुझाउँदै, ‘‘सरकारले चासो नलिए जनस्तरबाटै चन्दा संकलन गरेर पुल निर्माण गरिनेछ,’’ भन्दै अनुमति माग गर्नुभएको थियो ।
इतिहास : निर्माण ठेक्का, ढिलाइ र बाढीले ल्याएको विपत्ति
४७० मिटर लामो र ११ मिटर चौडाइको यो पुल २०६८ मङ्सिरमा २४ करोड ९१ लाख रुपैयाँ लागतमा पप्पु बिल्डर्स कन्स्ट्रक्शनलाई ठेक्का गरिएको थियो । तर पटक–पटक म्याद थप्दा पनि काम अघि नबढेपछि जनदबाबका कारण २०७५ सालमा पप्पु कन्स्ट्रक्शनसँगको ठेक्का तोडियो ।
पछि, २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्शनसँग नयाँ सम्झौता गरी २०७८ असार १३ गतेभित्र काम सक्ने लक्ष्य बनाइएको थियो। काम तीव्र गतिमा अघि बढे पनि उद्घाटनको तयारीकैबीच २०७८ असार १७ गते आएको बाढीले पूर्वपट्टिको पाया भासिएको र पश्चिमपट्टिको पायामा समेत असर परेको थियो ।
जनस्तरबाट पुनः सुरु भएको यो अभियानले अब पुल पुनर्निर्माणमा नयाँ आशा जगाएको स्थानीयहरूको भनाइ छ ।