रौतहट । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले रौतहटका विभिन्न शक्तिपीठमा पूजाअर्चना गर्दै प्रदेशको समुन्नति र सुशासनका लागि प्रार्थना गर्नुभएको छ । आइतबार मधेश भवन, जनकपुरधाममा सपथग्रहणपछि उहाँ सोमबार गृह जिल्ला रौतहट पुगेका थिए ।
मुख्यमन्त्री यादवले सोमबार बिहान राजदेवी नगरपालिकास्थित राजदेवी मन्दिरको दर्शन गरी पूजाअर्चना गर्नुभयो। करिब १० मिनेटसम्म मन्दिरको गर्भगृहमा बसेर प्रदेशको समृद्धि, भ्रष्टाचारमुक्त समाज निर्माण तथा मानव कल्याणको कामना गर्दै प्रार्थना गरिएको उहाँले बताउनुभयो । मन्दिरका पुजारी मनोजकुमार मिश्रले मुख्यमन्त्री यादवलाई विशेष पूजाअर्चना गराएका थिए ।
त्यसपछि उहाँले रौतहटको दुर्गाभगवती–३, मत्सरीस्थित दुर्गा मन्दिरमा पनि पूजाअर्चना गर्नुभएको नेपाली कांग्रेस मधेश प्रदेश सूचना–सञ्चार प्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिनुभयो ।
आइतबार साँझ रौतहट पुगेका मुख्यमन्त्री यादवले गरुडा, गढिमाइ, दुर्गाभगवति, राजदेवी, गौर, कटहरियासहित विभिन्न स्थानका सर्वसाधारणसँग भेटघाट गर्दै स्थानीय समस्याहरू, जनगुनासा र समाधानका सम्भावित उपाय बारे छलफल गरेकाे पनि गुप्ताले बताए ।