बाराको सुवर्ण गाउँपालिका–३ संतगञ्जमा रहेको छोटी भन्सार कार्यालय विगत १२ वर्षदेखि सञ्चालनमा नआउँदा स्थानीय उपभोक्ता तथा साना–ठूला व्यवसायीहरू समस्यामा परेका छन् ।
छोटी भन्सार कार्यालय बन्द भएपछि सुवर्ण गाउँपालिकाका औरैया, हर्दिया, प्रशरामपुर, कवहीगोठ, चरमोहना, बगही, लंगडा टोल, सनफुलवा, चौरहिया झिटकैया, मझरिया लगायतका तथा महागढीमाई नगरपालिकाका बरियारपुर, धर्मपुर, पिप्राढी, बेनौली, रौवाही क्षेत्रका उपभोक्ता र व्यवसायीलाई सिमावर्ती भारतीय बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्न कठिनाइ भएको स्थानीय बिनोद गिरीले बताए ।
उनका अनुसार बीरगञ्ज भन्सार कार्यालयले आवश्यक कर्मचारी खटाउन नसक्दा विक्रम संवत् २०७० सालदेखि नै संतगञ्जको छोटी भन्सार कार्यालय बन्द रहेको छ । कार्यालय सञ्चालनमा रहँदा स्थानीय व्यवसायीहरूलाई भारततर्फको छौडादानो बजारबाट भन्सार प्रक्रियामार्फत सहज रूपमा मालसामान ल्याउन सुविधा रहेको थियो ।
स्थानीय सरकार गठन भइसकेपछि पनि हालसम्म कसैले छोटी भन्सार कार्यालय पुनः सञ्चालन गर्नुपर्छ भन्ने विषयमा गम्भीर चासो नदेखाएको गिरीको भनाइ छ । भन्सार कार्यालय बन्द रहँदा सिमानाकाबाट हुने अवैध मालसामानको तस्करीसमेत बढ्दो क्रममा रहेको उनले बताए ।
यदि छोटी भन्सार कार्यालय सञ्चालनमा ल्याइयो भने सिमानाकाबाट हुने तस्करी नियन्त्रण हुनुका साथै नेपाल सरकारको राजस्व संकलनमा समेत सकारात्मक योगदान पुग्ने स्थानीयको विश्वास रहेको छ । यद्यपि, सिमावर्ती क्षेत्रमा सुरक्षाकर्मीको निगरानी बढाइए पनि अवैध ओसारपसार पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन ।