सर्लाहीको लालबन्दी नगरपालिका–२ पुनःवासस्थित पाँचकुमार प्राथमिक विद्यालय पछाडि निर्माण गरिएको सामूहिक आवास भवन सात वर्ष बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन । लामो समयदेखि अलपत्र अवस्थामा रहेको यस भवन अहिले लागुऔषध दुर्व्यसनीहरूको अड्डा बन्दै गएको छ ।
स्थानीय भोगिन्दर पासवानका अनुसार भवन निर्माण सम्पन्न भए पनि प्रयोगमा नआउँदा अहिले दिनहुँ हुलका हुल युवाहरू लागुऔषध सेवन गर्न आउने गरेका छन् । “भवन यस्तै अवस्थामा छाडियो भने आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको आश्रयस्थल बन्ने खतरा छ,” पासवानले चिन्ता व्यक्त गर्नुभयो ।
उनका अनुसार एकान्त स्थानमा, विद्यालयको आडमै रहेको यो भवनमा नचिनेका मानिससमेत लागुऔषध सेवन गर्न आउने गरेका छन् । “राज्यले यत्रो रकम खर्च गरेर बनाएको संरचना यसरी खेर जानु दुःखद छ,” पासवानले भन्नुभयो, “अहिले यो भवन गाँजा र ट्याब्लेट सेवन गर्ने ठाउँ मात्र बनेको छ ।”
पुनःवास दलित पासवान समुदायको बसोवास रहेको बस्ती हो । सङ्घीय सरकारले स्थानीय अतिविपन्न तथा विपद् प्रभावित परिवारलाई आवास उपलब्ध गराउने उद्देश्यले दलित बस्तीमा सामूहिक आवास भवन निर्माण गरेको हो । तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत पुनःवासमा निर्माण गरिएको उक्त भवनका लागि करिब एक करोड रूपैयाँ खर्च भएको छ ।
लालबन्दी नगरपालिकाका निवर्तमान नगरप्रमुख मानबहादुर खड्काका अनुसार ५०/५० लाख रुपैयाँ लागतमा एउटै स्थानमा दुईवटा सामूहिक आवास भवन निर्माण गरिएको हो । उहाँले वडा र नगरपालिकाले भवन निर्माणको क्रममा नै केही विपन्न दलित परिवारलाई त्यहाँ बसोवास गराउने प्रयास गरे पनि कसैले चासो नदेखाएको बताउनुभयो ।
“त्यो बेला भवनमा बस्नेहरूको नामावलीसमेत तयार गरेका थियौँ, तर आफू बसिरहेको ठाउँ छाडेर यहाँ बस्न कोही पनि तयार भएनन्,” निवर्तमान नगरप्रमुख खड्काले भन्नुभयो । उहाँका अनुसार लालबन्दी–५ रन्जितपुरमा यस्तै किसिमको आवास भवनमा भने मुसहर समुदायका परिवार बसोवास गर्न आएका थिए ।
यसैबीच लालबन्दी नगरपालिका–२ का वडाध्यक्ष किरणकुमार पासवानले अलपत्र बनेको भवनमा अब पाँचकुमार प्राथमिक विद्यालय सार्ने योजना अघि बढाइएको जानकारी दिनुभयो । उहाँले यसै वर्षदेखि भवन प्रयोगमा ल्याउने दाबी गर्नुभयो ।
“विद्यालयमा अहिले जस्ताको छानो भएकाले गर्मीयाममा पढाइ सञ्चालन गर्नै समस्या छ,” वडाध्यक्ष पासवानले भन्नुभयो, “त्यसैले अलपत्र सामूहिक आवास भवनलाई फिनिसिङ गरेर विद्यालय सार्ने तयारीमा छौँ ।”
अलपत्र भवनको रङ्गरोगन तथा फिनिसिङका लागि मधेश प्रदेश सरकारबाट २० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको वडाध्यक्ष पासवानले जानकारी दिनुभयो ।