गुल्मी । रेसुङ्गा नगरपालिकामा निर्माणाधीन अत्याधुनिक सभाहल तीन वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। हालसम्म सभाहलको करिब ७५ प्रतिशत भौतिक प्रगति मात्रै भएको छ ।
सङ्घीय सरकारअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमार्फत भ्याटसहित १४ करोड १७ लाख १३ हजार ९३७ रुपैयाँ लागतमा तीन वर्षअघि सभाहल निर्माण सुरु गरिएको थियो । जिल्लाको सदरमुकाम तम्घास नजिकै रेसुङ्गा नगरपालिका–४ अर्खलेमा निर्माणाधीन यो सभाहल जिल्लाकै ठूलो र अत्याधुनिक संरचना बन्ने अपेक्षा गरिएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयका इञ्जिनियर घनश्याम यादवका अनुसार हालसम्म सभाहलको ७५ प्रतिशत भौतिक तथा ६५ प्रतिशत वित्तीय प्रगति भएको छ । उहाँका अनुसार विसं २०७९ कात्तिक २७ गते डिएनडी सत्तेश्वर–याकेट जेभीले निर्माणको जिम्मा लिएको हो ।
निर्धारित समयमै काम सम्पन्न हुन नसकेपछि आयोजनाको म्याद २०८२ चैत मसान्तसम्म थप गरिएको इञ्जिनियर यादवले जानकारी दिनुभयो । उहाँले निर्माण सामग्री आपूर्ति, प्राविधिक तथा अन्य विविध समस्याका कारण काम ढिलाइ हुँदै आएको बताउनुभयो। यद्यपि, अब आगामी चैत मसान्तसम्म सभाहल निर्माण सम्पन्न गरी भवन हस्तान्तरण गर्ने लक्ष्यका साथ निर्माण व्यवसायीलाई काममा तीव्रता दिन आयोजना कार्यालयले निरन्तर ताकेता गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।
पाँच रोपनी क्षेत्रफलमा निर्माण भइरहेको यो सभाहल दुई तला संरचनामा अग्नि नियन्त्रण प्रणाली, भूकम्प प्रतिरोधी प्रविधि, अत्याधुनिक कोठाहरू, गार्डेन, पार्किङ क्षेत्र तथा दुईवटा छुट्टाछुट्टै हलसहित निर्माण भइरहेको छ ।
सभाहलमा एकतर्फ १०८ जना क्षमताको बहुउद्देश्यीय हल र अर्कोतर्फ ४३२ जना क्षमताको मुख्य हल रहनेछ। यसरी सभाहलको कुल क्षमता ५४० जनाको हुने आयोजनाले जनाएको छ ।
सभाहलको आन्तरिक सजावट, फर्निचर व्यवस्थापन, गार्डेन तथा कम्पाउण्ड निर्माणको कामसमेत भइरहेको निर्माण व्यवसायी धनिश्वर गौतमले जानकारी दिनुभयो । उहाँले पछिल्लो समय निर्माण कार्यमा तीव्रता दिइएको दाबी गर्नुभयो ।