जबरजस्ती करणीको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता तथा जनकपुरधाम उपमहानगरपालिकाका मेयरका प्रत्यासी शिवशंकर साह ‘हिरा’लाई म्याद थपका लागि आज जिल्ला अदालत धनुषामा उपस्थित गराइने भएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमका अनुसार साहलाई भारतबाट नेपाल प्रवेश गर्ने क्रममा पक्राउ गरिएको हो । बलात्कारसम्बन्धी उजुरीका आधारमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रवक्ता बमका अनुसार साहलाई आज अदालतमा उपस्थित गराई अनुसन्धानका लागि म्याद थपको अनुमति लिइने तयारी भइरहेको छ । यसै घटनासँग सम्बन्धित आरोपमा नाबालिगका नातेदार पर्ने संजय महासेठलाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानका आधारमा कानुनी प्रक्रियाअनुसार अघि बढ्ने जनाएको छ ।