बारामा नेपाल सल्ट ट्रेडिङ कर्पोरेशन वीरगञ्जको एक अनुगमन टोलीले कलैया बजारका विभिन्न खाद्य तथा बिउ–बिजन व्यापारिक प्रतिष्ठानमा छापा मारेको छ ।
कर्पोरेशनका प्रमुख अमोद लामिछानेको नेतृत्वमा गरिएको अनुगमनका क्रममा बजारका १० वटा पसलमा पोटास अनुमति बिना बिक्री गरेको, किसानसँग तोकिएको भन्दा बढी मूल्य लिएको तथा बिल–भाउजस्ता आवश्यक कागजात नबनाई व्यापार गरेको जस्ता अनियमितता भेटिएको टोलीले जनाएको छ ।
प्रमुख लामिछानेका अनुसार अनियमितता भेटिएका व्यापारीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको छ । उनले बजारमा खाद्य सामग्री र बिउ–बिजनको मूल्य, मापदण्ड तथा आपूर्ति व्यवस्थालाई पारदर्शी बनाउन नियमित अनुगमन जारी रहने बताएका छन् ।