भन्सार ‘एजेन्ट’हरूको आन्दोलनले पर्सामा भन्सार जाँचपास प्रक्रिया प्रभावित भएको छ । मंसिर २० गतेदेखि लागू भएको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ का केही प्रावधानप्रति आपत्ति जनाउँदै एजेन्टहरू आन्दोलित बनेका हुन् ।
मंगलबार पेट्रोलियम पदार्थ बाहेक अन्य सबै सामानको भन्सार जाँचपास कार्य ठप्प भयो । भन्सार प्रक्रियामा अवरोध भएपछि उद्योग व्यावसायीसहित व्यापार गतिविधिमा असर परेको छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले नयाँ भन्सार ऐनले सिर्जना गरेका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
यसैबीच, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले समस्या समाधानका लागि पहल जारी रहेको र आजदेखि जाँचपास प्रक्रिया सामान्य रूपमा सञ्चालन हुने आशा व्यक्त गर्नुभयो ।