काठमाडौँ–धादिङ, मंसिर २४ गते: नागढुंगा–नौबिसे मलेखु सडक खण्ड अन्तर्गत नागढुंगादेखि पिप्लामोडसम्म तथा पोखरेभिर क्षेत्रमा सडक कालोपत्रे र स्तरोन्नति कार्य बुधबारदेखि सुरु भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैसँग समन्वय गर्दै छिटो र प्रभावकारी रूपमा काम सम्पन्न गर्न उक्त सडक खण्ड मंसिर २४ गतेदेखि पुस १ गतेसम्म बिहान १०:३० बजेदेखि दिउँसो ३:३० बजेसम्म बन्द हुने गरी सडक स्तरोन्नति कार्य अगाडि बढाएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँ र धादिङले संयुक्त रूपमा सूचना प्रकाशित गर्दै सडक बन्द गरेर कार्य अघि बढाइएको जानकारी दिएका छन् । सडक विस्तारको कार्य अन्तर्गत त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडक खण्ड कालोपत्रे गरी स्तरोन्नति सम्पन्न गर्ने चरणमा छ ।
सडक विभागका अनुसार काठमाडौं जिल्ला भित्र पर्ने नागढुंगा–पिप्लामोड खण्डलाई उच्च प्राथमिकतामा राखेर कालोपत्रे कार्य सम्पन्न गरिनेछ । यस सडक खण्ड साँघुरो भएकाले एकैसाथ धेरै उपकरण र ढुवानीका साधन परिचालन गर्नुपर्ने आवश्यकता रहेको छ । त्यस्तै, धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण भएकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्ने काम पनि सुरु गरिएको छ ।
यस समयमा काठमाडौंबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुंगा चेकपोस्टमा रोकिएका छन् । अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल र शव वाहनहरूलाई ट्राफिक प्रहरीले सहजीकरण गर्दै आवागमनको व्यवस्था गरेको छ ।