बर्दिया, मंसिर २४ गते: अवैध रूपमा ओसारपसार गरिँदै गरेको चार क्विन्टल ६२ किलोग्राम जडीबुटी टिमुरसहित एक जना पक्राउ परेका छन् । बाँसगढी नगरपालिका–१ चेपाङ क्षेत्रमा गरिएको चेकजाँचका क्रममा टिमुर बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बाजुराबाट नेपालगञ्जतर्फ लैजाँदै गरिएको अवस्थामा सु.प.प्र. ०१–००१ क २१७४ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा १८ वटा बोरामा राखिएको टिमुर फेला परेको थियो ।
ट्रक चालक शुक्लाफाँटा नगरपालिका–२ निवासी ४३ वर्षीय तेजबहादुर जागरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बरामद गरिएको टिमुर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँकेमा बुझाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार टिमुर कुनै पनि अनुमति नलिई अवैध रूपमा ओसारपसार गरिएको पाइएपछि चालकलाई पक्राउ गरिएको हो ।