सिरहाको बरियारपट्टी गाउँपालिका–२ मा स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले भारततर्फबाट नेपालतर्फ प्रवेश गर्दै गरेको भारतीय नम्बर प्लेटको स्कुटी (बीआर–३२–एडब्ल्यू ८३७७) जाँच गर्ने क्रममा मंगलबार मध्याह्न स्कुटीको डिकीभित्र लुकाइराखिएको सात लाख रुपैयाँ फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माका अनुसार स्कुटी चालक बरियारपट्टी गाउँपालिका–३ का ४६ वर्षीय दिनेश महतो पक्राउ परेका छन् । केही दिनदेखि सीमावर्ती क्षेत्रमा निगरानी बढाएर कडा चेकजाँच गरिँदै आएको अवस्थामा महतोको स्कुटी रोकिनुका साथै डिकी खोल्दा नगद भेटिएको उनले बताए ।
पक्राउ परेका महतोमाथि हुण्डी काराेबारीको प्रयोजन तथा सम्भावित अवैध कारोबारकाे विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।