सर्लाहीको विष्णु गाउँपालिका–६ स्थित प्रहरी चेकपोस्टमा बुधबार राति गरिएको चेकजाँचका क्रममा ९५ थान नक्कली नेपाली रुपैयाँसहित एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार सर्लाहीबाट खटिएको चेकिङ टोलीले राति करिब ९ बजे भारततर्फबाट सिमरा तर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकललाई शंका लागेर रोकेर जाँच गरेको थियो । सो क्रममा मोटरसाइकल चालक सर्लाहीको कौडेना गाउँपालिका–५ छपकैया बस्ने ३० वर्षीय फिरोज खानको पछाडिको गोजीबाट हजार रुपैयाँका ९५ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।
नक्कली रकमसहित पक्राउ परेका खानलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको प्रहरीले जानकारी दिएको छ ।
नक्कली नोट कहाँबाट आएको र कसरी नेपाल भित्र्याइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।