सहकारी ठगी तथा सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा आज उच्च अदालत बुटवलमा सुनुवाइका लागि पेसी चढाइएको छ ।
उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुवरका अनुसार मुद्दा आजको पेसीमा परेको हो । यसअघि दुई पटक लामिछाने पक्षका कानुनी व्यवसायीहरूले निवेदन दिएपछि बहस रोकिएको थियो ।
सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो दाखिला गरेका थिए । तर जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो ।
जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालत बुटवलमा निवेदन दर्ता गराएका थिए । यो मुद्दाको आज हुने सुनुवाइसँगै आगामी कानुनी प्रक्रियाबारे स्पष्टता आउने अपेक्षा गरिएको छ ।