चितवन प्रहरीले १४२ ग्राम ६८ मिलिग्राम खैरो हिरोइनसहित आठ जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले भरतपुर महानगरपालिका–१०, लाहुरेटोल क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा पर्सा वीरगञ्ज–३ का १९ वर्षीय अनवर अंसारी, २० वर्षीय रहिफुल्ला मिया ठकुराई, २० वर्षीय प्रवेज अंसारी, छप्कैया–१ की २३ वर्षीया आईपा खातुन, भरतपुर–४ त्रिचोकका २१ वर्षीय सरोज तामाङ, भरतपुर–१७ गोब्रेनीका २४ वर्षीय वसन नेपाली, भरतपुर–२१ पार्वतीपुरका ३२ वर्षीय मनोज बिक (मनु) र ३६ वर्षीय भिमबहादुर तामाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लागू औषध बिक्री–वितरण तथा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा असई हरि भट्टराई नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
चेकजाँचका क्रममा उनीहरूको साथबाट खैरो हिरोइन जस्तो देखिने १४२ ग्राम ६८ मिलिग्राम धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि लागू औषधसम्बन्धी कसूरमा चितवन जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान जारी छ।