मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा यादवले सरकार गठनको एक सातामै विश्वासको मत लिने तयारी गरे पनि गठबन्धनभित्रको असमझदारीका कारण विश्वासको मतको मिति अहिलेसम्म टुङ्गिन सकेको छैन ।
मंसिर २१ गते शपथ लिएका यादवले सुरुमा २४ गते नै विश्वासको मत लिने घोषणा गरेका थिए । तर मन्त्रालयको भागबण्डा नमिल्दा जनमत, नेकपा एस र कांग्रेसका एक–एक मन्त्रीलाई मात्र शपथ गराउन बाध्य भएका थिए । सपथमाथि नै देखिएको असमन्जसका कारण गठबन्धनभित्र खटपट सुरु भएको राजनीतिक वृत्तले व्याख्या गरे पनि ती दलका नेताहरूले भने समयाभावका कारण मन्त्री सूची नपठाएको दाबी गर्दै विवाद भएकै होइन भन्ने बताइरहेका थिए ।
तर विश्वासको मतको मिति पटक–पटक सर्ने क्रमले भने गठबन्धनभित्रको असमझदारी गहिरिँदै गएको पुष्टि गरिरहेको छ। २४ गते नलिएपछि २७ गते विश्वासको मत लिने भनिए पनि सोही दिन एमालेको महाधिवेशन सुरु हुने भएपछि मिति फेरि सारिएको हो ।
गठबन्धनभित्र सभामुख र मन्त्रालयको भागबण्डा मिल्न नसक्दा विश्वासको मतको औपचारिक मिति तय हुन नसकेको गठबन्धनमै रहेका नेताहरू स्वीकार गर्न थालेका छन् ।
मन्त्रालय बाँडफाँडमै टुङ्गो नलाग्दा विवाद चर्कियो
गठबन्धनले गरेको प्रारम्भिक सहमतिअनुसार
- कांग्रेसले मुख्यमन्त्रीसहित २ मन्त्रालय
- जसपा नेपालले सभामुखसहित २ मन्त्रालय
- माओवादी र समाजवादी मिलेर ३ मन्त्रालय
- जनमतले २ मन्त्रालय
- लोसपाले २ मन्त्रालय
लिने सहमति भएको थियो ।
तर मुख्य मन्त्रालय मानिने भौतिक पूर्वाधार मन्त्रालय र सभामुख दुवैमा जसपा नेपाल र माओवादी नेता भरत साहबीच दाबी जुधेपछि विवाद चर्किएको हो । जनमत पार्टीले अर्थ मन्त्रालय पहिले नै पाइसकेकाले जसपा नेपाल भौतिक मन्त्रालय र सभामुख दुवैमा आग्रह गर्दै आएको छ। तर भरत साह सभामुखसहित भौतिक मन्त्रालयमा समेत दाबी राखेपछि विवाद सतहमा आएको नेताहरू बताउँछन् ।
पहिल्यै दुई सरकार ढालेको विवादास्पद भूमिका
माओवादी नेता भरत साहकै कारण यसअघि दुईवटा सरकार ढलेको प्रसंगसमेत पुनः चर्चामा आएको छ ।
सरोज यादव नेतृत्वको सरकार गिराउन साहले भारतको सुरसण्डमा गोप्य बैठक गरेको तथ्य सार्वजनिक भएको थियो । जितेन्द्र सोनल नेतृत्वको सरकार पनि साहकै कारण ढलेको चर्चा छ । यतिबेला पनि साहकै अडानले गठबन्धन अस्थिर बनेको आरोप नेताहरूले लगाइरहेका छन् ।
आजको बैठक निर्णायक हुने संकेत
सत्ता गठबन्धनको बैठक आज बिहान ११ बजे मधेश भवनमा बस्दैछ ।
बैठकले भागबण्डा टुंग्याउने र विश्वासको मतको मिति तय गर्ने अपेक्षा गरिएको छ । सहमति नभए जसपा नेपाल र लोसपा गठबन्धनबाट बाहिरिन सक्ने सम्भावना बढेको बताइन्छ । तर, जसपा र लोसपा बाहिरिए पनि एमालेले मुख्यमन्त्री कृष्णा यादवलाई समर्थन गर्ने घोषणा गरिसकेको हुनाले विश्वासको मतमा ठूलो समस्या नआउने राजनीतिक विश्लेषकहरूको अनुमान छ ।