भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले १४ वर्षदेखि अलपत्र रहेको बाराको सदरमुकाम कलैयाको मुख्य सडकको काम छिटो सुरु नभए तत्काल ठेक्का तोड्ने चेतावनी दिएका छन् ।
मन्त्री घिसिङ कलैयाको सडक निरीक्षण गर्दै सडक विस्तारमा भइरहेको ढिलाइ छिट्टै टुङ्ग्याइने बताएका हुन् । उनले हालको ठेकेदारबाट काम सम्पन्न नहुँदा तत्काल ठेक्का तोडेर नयाँ टेण्डर प्रक्रियामा जाने बताए ।
भारतीय निर्माण कम्पनी भिस्वा कन्ट्रक्सनले २०६८ सालमा बाराको मटिअर्वा–मानमत अन्तर्गतको २७ किलोमिटर सडक कालोपत्रे सुरु गरेको थियो । हुलाकी मार्ग आयोजनाअन्तर्गत कम्पनीले २३ किलोमिटर मात्रै कालोपत्रे गरी साढे तीन किलोमिटर अधुरो छाडेको थियो। त्यसयता १४ वर्षमा बाँकी साढे तीन किमि सडकमा काम हुन सकेको छैन ।
यस अवधिमा सडक निर्माणका लागि दुई कम्पनीले ठेक्का लिए पनि काम सम्पन्न गर्न सकेका छैनन्। सुरुमा २०६८ सालमा भारतीय भिस्वा कन्ट्रक्सन र पछि आशीष/डिएस जेभीले २०७३ कात्तिक ३ मा ठेक्का लिए पनि काम हुन सकेन । पछिल्लो कम्पनीले दुई प्याकेजमा ठेक्का लिएको थियो—पहिलो प्याकेज २३ करोड ७३ लाख ४२ हजार रुपैयाँ र दोस्रो प्याकेज २२ करोड ४५ लाख ९३ हजार रुपैयाँ ।
सप्तकोशी जलाधार/ओम साइ एण्ड कम्पनीले २०७८ पुस २७ मा साढे तीन किलोमिटर सडक निर्माणको ठेक्का लिएको थियो । कम्पनीले सडकको काम जम्मा १८ प्रतिशत मात्र सम्पन्न गरेको छ । हुलाकी मार्ग आयोजना, वीरगन्जका सूचना अधिकारी धर्मेन्द्रकुमार दासका अनुसार २२ करोड ३१ लाख ८६ हजार रुपैयाँमा भएको ठेक्कामा ४ करोड १५ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।
जिल्ला प्रशासन कार्यालयका मुआब्जा फाँटका उमेश पटेलका अनुसार आर्थिक वर्ष २०६९/७० देखि हालसम्म १४ सय जग्गाधनीलाई १ अर्ब ४ करोड ९१ लाख ६२ हजार रुपैयाँ मुआब्जा भइसकेको छ । कलैया उपमहानगरपालिकाले पनि सडकमा धुलो हटाउन नागरिकको दबाबमा ८ वर्षदेखि पानी छर्ने, सडकको खाल्डाखुल्डीमा माटो र ग्राभेल हाल्ने काम गर्दै आएको छ ।
सडकमा धुलो उड्ने समस्यालाई मध्यनजर गर्दै ट्यांकरबाट दैनिक पानी छर्कनु, सरसफाइ गर्नु र ग्राभेल हाल्ने काममा ८ वर्षमा करिब १ करोड रुपैयाँ खर्च भएको शाखाका कर्मचारीले जानकारी दिएका छन्। मासिक सात सय लिटर डिजेल खर्च हुने गर्दछ ।