भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन–पोखरा सडक आयोजनाको पश्चिम खण्ड शीघ्र सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ ।
जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले निर्धारित समयमै काम सम्पन्न गरी सडक आवागमन सहज बनाउन निर्देशन दिनुभएको हो । निरीक्षणका क्रममा उहाँले हालसम्मको भौतिक तथा वित्तीय प्रगतिबारे जानकारी लिँदै देखिएका समस्या समाधानमा मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
आयोजनाका अनुसार पश्चिम खण्डमा हालसम्म ५९ दशमलव ७६ प्रतिशत भौतिक प्रगति र ४७ दशमलव ८० प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।
आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार ४८ दशमलव ८८ किलोमिटर दूरी रहेको उक्त खण्डमा हालसम्म ३७ दशमलव ४ किमीमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सम्पन्न भइसकेको छ । तीमध्ये २९ दशमलव ६१ किमीमा चार लेन र ७ दशमलव ७९ किमीमा दुई लेन कालोपत्र सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
पश्चिम खण्डअन्तर्गत १२ वटा पुलमध्ये ११ वटा पुलको निर्माण सम्पन्न भइसकेको छ भने सेती नदीमा एक पुल निर्माणाधीन अवस्थामा रहेको आयोजनाले जनाएको छ । गत आर्थिक वर्षमा पश्चिम खण्डको २५ किमी सडक चार लेनमा स्तरोन्नति गर्ने लक्ष्य राखिएकोमा २३ दशमलव ०६ किमीमा कालोपत्र सम्पन्न भएको आयोजना प्रमुख कुँवरले बताउनुभयो । उहाँका अनुसार पुल निर्माणतर्फ ११ वटा निर्माण गर्ने लक्ष्य राखिएकामा लक्ष्यअनुसार सबै पुल सम्पन्न भएका छन् ।
यस्तै, ६६ वटा कल्भर्ट निर्माण गर्ने लक्ष्यमध्ये ६५ वटा सम्पन्न भएका छन् भने ५१ दशमलव ५ किमी नाला निर्माण गर्ने लक्ष्य राखिएकामा ४५ दशमलव २ किमी नाला निर्माण सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ ।
आगामी पुस १६ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७८ जेठ ३ गते रु सात अर्ब ४० करोड लागतमा निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो ।