इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग बढेसँगै सुदूरपश्चिम प्रदेशमा साइबर अपराध निरन्तर बढ्दै गएको प्रहरी तथ्याङ्कले देखाएको छ । फेसबुक, म्यासेन्जर, टिकटक र विभिन्न बैंकिङ एपमार्फत बढी हुने यी अपराधका पीडित र पीडक दुवैमा १४–२६ वर्ष उमेर समूहका किशोरकिशोरी बढी संलग्न देखिन्छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ३६४ उजुरी दर्ता भए, जसमध्ये १६ वटा मुद्दामा परिणत भएका थिए । आर्थिक वर्ष २०८१/०८२ मा उजुरी ३९७ पुगेको भए पनि मुद्दा दर्ता संख्या १२ मात्रै रह्यो । चालु आर्थिक वर्ष मंसिरसम्ममा १३५ उजुरी परिसकेका छन् र ६ वटा मुद्दा दर्ता भएका छन् ।
कैलाली जिल्लामा यो समस्या झनै गम्भीर छ । जिल्ला प्रहरी कार्यालय कैलालीका तथ्याङ्क अनुसार २०७६/७७ मा मात्र १३ उजुरी परेका थिए भने २०८१/८२ मा २३७ उजुरी दर्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश सिंह विष्टका अनुसार, “साइबर अपराध बढ्नुको कारण केवल प्रविधि होइन, सामाजिक सञ्जालको असावधानीपूर्ण प्रयोग, शिक्षा र चेतनाको कमी तथा अभिभावकको निगरानी अभाव पनि हो ।” उनका अनुसार धेरै किशोरकिशोरी अनलाइनमा साथीभाइको देखासिकी, प्रेम सम्बन्धमा उतारचढाव र अनभिज्ञताका कारण सजिलै अपराध कर्ममा फस्छन् ।
साइबर अपराधले केवल अनलाइन वातावरण मात्र होइन, परिवार र समाजसम्म गहिरो असर पार्दै आएको छ । नक्कली प्रेम सम्बन्धमा फसाएर आर्थिक वा यौनिक शोषण, व्यक्तिगत तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की, ब्ल्याकमेलिङ र चरित्रहत्या जस्ता घटनाले पीडितको मानसिक स्वास्थ्यमा गहिरो असर पुर्याउँछ ।
प्रहरीका अनुसार उजुरीको संख्या बढी भए पनि मुद्दा दर्ता कम हुनुका कारण सामाजिक, प्रक्रियागत र अनुसन्धान चुनौती हुन् । फेसबुक, टिकटकजस्ता मुख्य कार्यालय नेपालमा नहुँदा आवश्यक डाटा प्राप्त गर्न महिनौँ लाग्ने र अनुसन्धान ढिलाइ हुने समस्या छ ।
प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममार्फत विद्यालय र समुदाय स्तरमा सचेतना अभियान चलाइरहेको छ । प्रहरी निरीक्षक विष्टले भने, “अभिभावकले छोराछोरीको अनलाइन गतिविधिमा निगरानी राख्ने र खुला संवाद गर्ने हो भने धेरै समस्या समाधान हुन्छ । विद्यालय पाठ्यक्रममा साइबर सुरक्षा अनिवार्य विषय बनाउने र सामाजिक संघसंस्थाहरूले सचेतना अभियानमा सहयोग गर्ने पनि जरुरी छ ।”