कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकार निर्वाचनको तयारीमा केन्द्रित रहेको बताएका छन् । १९औँ संघीय संसद् सेवा दिवसको अवसर पारेर आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले निर्वाचनपछि प्रतिनिधिसभालाई अझ जीवन्त बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
मन्त्री सिन्हाले संसद् सेवाका कर्मचारीहरूको योगदान महत्त्वपूर्ण हुने उल्लेख गर्दै कानुनहरू स्पष्ट, सरल, बोधगम्य र पठनयोग्य हुनेगरी निर्माण गर्न सरकारले अध्ययनको काम अघि बढाएको बताए । उनले संघीय संसद्को सुझाव यस प्रक्रियामा अत्यन्त उपयोगी हुने विश्वास पनि व्यक्त गरे ।
उनको भनाइ अनुसार, “हामी निर्वाचनको तयारीमा लागेका छौँ। निर्वाचन गरेपछि प्रतिनिधि सभालाई अझ जीवन्त बनाउन हामी सबैको सहयोग आवश्यक छ । जनप्रतिनिधिहरूको सर्वोच्च संस्था रही कानुन निर्माण गर्ने मुख्य जिम्मेवारी बोकेको संघीय संसद्को विशेष सहयोगीको रूपमा रहेको संसद् सेवा एक विशिष्टकृत सेवा हो । संघीय संसद्को कार्य सञ्चालनका लागि यसलाई व्यवस्थित र मर्यादित ढंगले अघि बढाउन संसद् सेवाको भूमिका महत्त्वपूर्ण हुन्छ । कानुनहरू स्पष्ट, सरल, बोधगम्य र पठनयोग्य हुने गरी निर्माण गर्नु आजको आवश्यकता हो । संसद्को भूमिकालाई प्रभावकारी बनाउन संसद् सेवा कर्मचारीको भूमिका उल्लेख्य छ ।”