वीरगंज । नेपाली राजनीतिमा युवाको भूमिका विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाली संकायको आयोजनामा कक्षा १२ का १० वटा सेक्सनका विद्यार्थीहरूको सहभागितामा अन्तर–सेक्सन वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले “नेपाली राजनीतिमा युवाको भूमिका” विषयमा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए । वक्ताहरूले युवाहरू परिवर्तनका संवाहक भएको, लोकतन्त्रको सुदृढीकरणका लागि युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको तथा राजनीतिक नेतृत्वमा युवालाई अवसर दिनुपर्ने आवश्यकता औँल्याएका थिए ।
प्रतियोगितामा अनुष्का बस्नेत प्रथम, सन्तोषी सुबेदी द्वितीय तथा पूजा यादव तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
कार्यक्रममा निर्णायकको भूमिकामा अंग्रेजी संकायका विभागाध्यक्ष शुभंकर ठाकुर, अर्थशास्त्र संकायका विभागाध्यक्ष अतुल श्रीवास्तव तथा व्यवसाय अध्ययन संकायका विभागाध्यक्ष रामबाबु प्रसाद चौरसिया रहनुभएको थियो। कार्यक्रममा शिक्षकहरू दुर्गा म्याम र अनिता म्यामको उपस्थिति रहेको थियो ।
कार्यक्रमले विद्यार्थीहरूमा राजनीतिक चेतना, अभिव्यक्ति क्षमता तथा नेतृत्व विकासमा सकारात्मक प्रभाव पारेको आयोजक पक्षले जनाएको छ । कार्यक्रमबारे नेपाली संकायका विभागाध्यक्ष आर. सन्दीप सरले जानकारी दिनुभएको हो ।