रौतहट । रौतहट र सर्लाही जोड्ने पुल समयमै निर्माण नहुँदा स्थानीय बासिन्दाले सास्ती बेहोर्नु परिरहेको भन्दै रौतहटका जेनजी अगुवा विक्रम यादवले नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराउनुभएको छ ।
समयमै पुल निर्माण नहुँदा दुवै जिल्लाका बासिन्दा जोखिमपूर्ण तथा कष्टकर यात्रा गर्न बाध्य भएको बताउँदै जेनजी अगुवा यादवले पुल निर्माण कार्य तत्काल सम्पन्न गर्न माग गर्नुभएको हो । उहाँले रौतहट र सर्लाहीका कुनै पनि जनप्रतिनिधि पुल निर्माणप्रति गम्भीर नदेखिएकोप्रति दुःखेसो व्यक्त गर्दै वर्तमान सरकार यो समस्याप्रति संवेदनशील हुनुपर्ने बताउनुभयो ।
रौतहट र सर्लाही जिल्ला जोड्ने बागमती नदीमा निर्माणाधीन दुई वटा पुल तोकिएको समयमा सम्पन्न नभई अलपत्र परेपछि बर्सौंदेखि यात्रुहरूले सास्ती भोग्दै आएका छन् । सोही सन्दर्भमा जेनजी अगुवा यादवको आग्रहमा मन्त्री घिसिङले शुक्रबार साँझ दुवै पुलको स्थलगत निरीक्षण गर्नुभएको हो ।
निरीक्षणका क्रममा मन्त्री घिसिङले पुल निर्माणको प्रगतिको बारेमा जानकारी लिनुका साथै पुल नहुँदा स्थानीयले भोग्दै आएका समस्याका विषयमा छलफल गर्नुभएको थियो । पुल नबन्दा आम नागरिकले दैनिक जीवनमा भोग्नु परेको समस्या सुन्दा र प्रत्यक्ष देख्दा आफूलाई दुःख लागेको बताउँदै मन्त्री घिसिङले आफू मन्त्री पदमा रहे पनि नरहे पनि पुल निर्माणका लागि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रौतहटको दुर्गाभगवती गाउँपालिका र सर्लाहीको रामनगर गाउँपालिका जोड्ने बागमती नदीमा करिब ७ सय मिटर लामो पुल निर्माणका लागि २०७३ सालमा ठेक्का सम्झौता भएको थियो । त्यसैगरी हुलाकी राजमार्ग अन्तर्गत सर्लाही र रौतहट जोड्ने बडहर्वास्थित बागमती नदीमा ६३४ मिटर लामो पुल निर्माणका लागि पहिलो पटक २०६७ सालमा ठेक्का सम्झौता गरिएको थियो। निर्माण व्यवसायीले काम गर्न नसकेपछि पुरानो ठेक्का तोडेर २०७९ सालमा पुनः नयाँ ठेक्का लगाइएको थियो ।