नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद मधेस प्रदेशमा अझै समाधान हुन सकेको छैन । सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी भइरहेका बैठकहरू निष्कर्षहीन बन्दै गएका छन् ।
धनुषा
नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारका अनुसार जिल्लामा क्रियाशील सदस्यता विवाद ठूलो छैन । केही वडामा फारामसम्बन्धी सामान्य समस्या देखिए पनि दुई–तीन दिनभित्र सबै टुङ्गो लगाएर केन्द्रमा पठाउने तयारी भइरहेको उनले बताए । धनुषामा ५–६ हजार नयाँ सदस्यता वितरण हुने र १८–२० हजारसम्म नवीकरण हुने जानकारी उनले दिए ।
महोत्तरी
महोत्तरी कांग्रेसका सभापति नागेश्वर यादवका अनुसार १०–१३ हजार सदस्यता नवीकरण भइसकेको छ भने करिब ५ हजार नयाँ सदस्यता थपिने अनुमान छ । फाराममा नम्बर उल्लेख गर्दा केही प्राविधिक त्रुटि देखिए पनि ठूला विवाद नरहेको उनले बताए । सबै प्रक्रिया टुङ्ग्याउन भने अझै केही समय लाग्ने उनको भनाइ छ ।
सर्लाही
सर्लाहीमा सदस्यता वितरण र नवीकरण प्रक्रिया सबैभन्दा बढी विवादित बनेको छ । कार्यवाहक सभापति डा. सरोज कुमारका अनुसार हालसम्म दुई हजार सिरियल नम्बरका फारामको मात्र प्रक्रिया अघि बढेको छ । नयाँ सदस्यताका फाराम नम्बरिङमै विवाद रहेकाले तोकिएको समयभित्र काम सकिन कठिन देखिएको उनले बताए ।
पर्सा
पर्सा कांग्रेसका सभापति जनार्दन सिंह क्षेत्रीका अनुसार सदस्यता सूचीकरणको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । किसानहरू धान काट्ने तथा अन्य कृषि कार्यमा व्यस्त रहेकाले प्रक्रिया ढिला भएको उनले बताए । जिल्लामा ठूलो विवाद नरहेको उनको दाबी छ ।
बारा
बारा कांग्रेसका सभापति राजेश राय यादवका अनुसार केही असहमति देखिए पनि समाधानको प्रयास जारी छ । हालसम्म विवाद टुङ्गो नलागेकाले थप समय आवश्यक रहेको उनले बताए ।
यता बारा कांग्रेसका सचिव राजेश रौनियारले भने क्षेत्रीय सभापतिहरूले विधानविपरीत काम गरेको आरोप लगाएका छन् । उनका अनुसार क्षेत्र नम्बर २ र ४ मा बढी समस्या देखिएको छ ।
सप्तरी
सप्तरी कांग्रेसका सभापति रामदेव साहका अनुसार करिब १० प्रतिशत मात्र सदस्यता विवाद टुङ्गिएको छ । नयाँ सदस्यता वितरणको काम भर्खरै सुरु भएको र समाधानका लागि केही दिन लाग्ने उनले बताए ।
सिरहा
सिरहा कांग्रेसका सभापति रामचन्द्र यादवका अनुसार करिब ५० प्रतिशत सदस्यताको टुङ्गो लागिसकेको छ । क्षेत्र नम्बर २ र ४ मा प्रक्रिया लगभग सकिएको छ भने अन्य क्षेत्रमा बाँकी छ । नयाँ सदस्यताका फाराम नम्बरिङ नहुँदा अन्योल देखिए पनि केन्द्रसँग छलफल भइसकेको र छिट्टै समाधान हुने विश्वास उनले व्यक्त गरे ।
रौतहट
रौतहट कांग्रेसका सचिव मिथिलेश मिश्रका अनुसार जिल्लामा करिब ८० प्रतिशत सदस्यता नवीकरण सम्पन्न भएको छ । नयाँ सदस्यताको ७५ प्रतिशत केन्द्रबाटै वितरण गरिएको र बाँकी २५ प्रतिशत नवीकरणपछि वितरण गरिने निर्णय भएको उनले बताए ।
समग्रमा मधेस प्रदेशका अधिकांश जिल्लामा नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रिया विवाद, प्राविधिक समस्या र समय अभावका कारण प्रभावित बनेको छ । अधिकांश जिल्ला नेतृत्वले समयसीमा थपेर विवाद समाधान गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
यसैबीच, क्रियाशील सदस्यता विवाद छानबिन समितिका संयोजक महेन्द्र यादवले सबै जिल्लाका पदाधिकारीलाई पार्टी विधान र प्रक्रिया अनुसार अघि बढ्न आग्रह गर्दै प्रक्रिया मिच्ने वा धाँधली गर्ने कार्य स्विकार्य नहुने स्पष्ट पारेका छन् ।