नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।
काठमाडौँको भृकुटीमण्डपस्थित बन्दसत्र स्थलमा रहेको केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा दुवै नेताले आज समर्थकसहित पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो । अध्यक्ष ओलीले अपराह्न ३ः३० बजे अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको थियो भने वरिष्ठ उपाध्यक्ष पोखरेलले करिब ३ बजे नै आफ्नो मनोनयन दर्ता गराउनुभएको हो ।
महाधिवेशनमा अध्यक्षसहित विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया जारी रहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी मनोनयन दर्ताको समय यसअघि अपराह्न ३ः३० बजेसम्म तोकिएको भए पनि उम्मेदवारहरूको लाइन कायम रहेकाले केही समय थपिने देखिएको छ ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले ३०१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।