आमसञ्चार प्राधिकरण जनकपुरधाम र नेपाल पत्रकार महासंघ पर्साको सहजीकरणमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगसम्बन्धी एकदिने तालिम वीरगंजमा सम्पन्न भएको छ ।
तालिममा पत्रकारितामा प्रयोग गर्न सकिने Google AI Studio, Notebook LM, Suno.com जस्ता आधुनिक एआई उपकरणबारे व्यावहारिक जानकारी गराइएको थियो । एआईको प्रयोगमार्फत समाचार लेखन, अडियो निर्माण, सामग्री संक्षेपण, अनुसन्धान सहयोग लगायतका विषयमा सहभागी पत्रकारलाई प्रशिक्षण दिइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पाँचवर्षे कार्यकालमा पत्रकारहरूको दीर्घकालीन हितका लागि काम गरिएको दाबी गरेका थिए । त्यसैको निरन्तरताका रूपमा आमसञ्चार प्राधिकरण गठन गरिएको बताउँदै उनले आधुनिक युगसँग पत्रकारहरू परिचित हुनुपर्नेमा जोड दिएका थिए । एआईका सकारात्मक र नकारात्मक दुवै पक्ष बुझेर जिम्मेवार रूपमा प्रयोग गर्नुपर्ने उनकाे सुझाव थियो ।
त्यसैगरी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले धेरै सहभागीसहितका तालिमहरू कहिलेकाहीँ उपयोगितामुखी नहुने गुनासो व्यक्त गरेका थिए । उनले सक्दो कम संख्यामा तर सबैले विस्तृत सिक्ने खालका तालिम आयोजना गर्नुपर्ने सुझाव दिएका थिए । यसका साथै, पत्रकारहरूको नाममा विमा योजना भए पनि विमा पाउन पत्रकारले अनावश्यक दुःख भोग्नुपरेको उल्लेख गर्दै यसलाई सहज बनाउन आमसञ्चार प्राधिकरणलाई ध्यानाकर्षण गराएका थिए ।
पर्सा जिल्लामा करिब १६५ जना महासंघका सदस्य पत्रकार रहेकोमा तालिममा सक्दो धेरै पत्रकारहरूको सहभागिता जनाएको बताए । सहभागीहरूले तालिमले पत्रकारितालाई समयसापेक्ष बनाउने र कामलाई प्रभावकारी बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, आमसञ्चार प्राधिकरणका प्रमुख अधिकृत अम्बिका साह, वरिष्ठ पत्रकार दिपेन्द्र चौहान, चौतारी नेपालका अध्यक्ष विजय भण्डारी, निरञ्जन मिश्र लगायतको उपस्थिति रहेको थिय ।
कार्यक्रमको सहजीकरण विजय चौहानले गरेका थिए भने तालिमकाे प्रशिक्षण सुरेश विडारी लगायतले दिएका थिए ।
आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागी पत्रकारहरूले यस्ता प्रविधिमैत्री तालिमहरूलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।