सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवामा सोमबार दिउँसो भएको आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु बाली जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार विद्युत् तार सर्ट भई स्थानीय मुना चौधरीको उखु खेतबाट सुरु भएको आगलागीले फैलिँदै जाँदा दर्जनौँ किसानको उखु बाली सखाप भएको हो । काटेर चिनी मिलमा बिक्री गर्ने तयारीमा रहेको उखु जलेपछि प्रभावित किसानहरू रुवावासीमा परेका छन् ।
गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादवले आफूलाई प्राप्त प्रारम्भिक जानकारीअनुसार करिब ५० देखि ६० बिघा क्षेत्रफलमा लगाइएको उखु जलेको बताउनुभयो । आगलागी नियन्त्रणका लागि करिब दुई हजार स्थानीय बासिन्दा, समाजसेवी सरोज यादवले उपलब्ध गराएको एक वटा दमकल, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा करिब पाँच घण्टापछि आगो नियन्त्रणमा लिन सफल भएको उहाँले जानकारी दिनुभयो ।
प्रमुख यादवका अनुसार आगलागीबाट करिब तीन करोड रुपैयाँ बराबरको उखु बाली क्षति भएको अनुमान गरिएको छ । काट्ने समय नजिकिएको उखुमा चिनीको मात्रा धेरै हुने भएकाले आगो छिटो र ठुलो क्षेत्रमा फैलिएको उहाँको भनाइ छ ।
आगलागीबारे चिनी मिललाई जानकारी गराइसकिएको र मिलले तत्काल जलेको उखुमा पानी पटाएर एकदेखि डेढ महिनापछि उखु हरियो भएर आएमा खरिद गर्न सकिने, अन्यथा अहिलेको अवस्थामा जलेको उखु खरिद गर्न नसकिने जनाएको प्रमुख यादवले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सरोज राईले आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार इलाका प्रहरी कार्यालय गडहीयासहित आसपासका प्रहरी युनिटहरू आगलागी नियन्त्रणमै केन्द्रित हुनुपरेको थियो ।