६ दलीय गठबन्धनको समर्थनमा सरकार गठन भएको ठीक १५ दिनपछि मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
प्रदेश सभा सचिवालयका अनुसार शुक्रबार अपराह्न ४ बजे बोलाइएको प्रदेश सभा बैठकको मुख्य कार्यसूचीमा विश्वासको मत लिने प्रस्ताव समावेश गरिएको छ । मंसिर १९ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ६ दलका प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता यादवले आज सदनमा बहुमत प्रमाणित गर्न लागेका हुन् ।
सरकार गठनपछि सत्तारुढ दलहरूबीच भएको सहमतिअनुसार विश्वासको मत लिने प्रक्रिया अघि बढाइएको बताइएको छ । गत सोमबार मुख्यमन्त्री निवास मधेश भवनमा बसेको सात दलको बैठकले शुक्रबार विश्वासको मत लिने निर्णय गरेपछि मुख्यमन्त्री यादवले प्रदेश सभामा औपचारिक पत्र पठाएका थिए । विश्वासको मतका लागि साधारण बहुमत पर्याप्त भए पनि मुख्यमन्त्री यादवसँग दुई तिहाइभन्दा बढी समर्थन रहेको बताइएको छ ।
यसअघि मुख्यमन्त्री रहेका सरोजकुमार यादवले विश्वासको मत नपाएपछि अब बन्ने सरकारलाई समर्थन गर्ने सार्वजनिक अभिव्यक्ति दिएकाले मुख्यमन्त्री यादवले लगभग सर्वसम्मत विश्वासको मत पाउने अनुमान गरिएको छ ।
१०७ सदस्यीय मधेस प्रदेश सभामा दलगत रूपमा एमालेका २५ जना (एक निलम्बित), नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९ (एक निलम्बित), जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ९ (एक निलम्बित), नेकपा एकीकृत समाजवादीका ७ तथा नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक जना सदस्य रहेका छन् ।