मधेस प्रदेशमा मन्त्रीमण्डलको भागबन्डा टुंग्याउने उद्देश्यले सत्तारुढ दलहरूको बैठक आइतबार पुनः बसेको छ ।
शनिबार बसेको बैठक निष्कर्षविहीन भएपछि सहमति जुटाउने प्रयासस्वरूप आइतबार बिहान फेरि बैठक बोलाइएको हो । बैठक बिहान ९ बजेदेखि सुरु भएको र मन्त्रालय बाँडफाँड मुख्य एजेन्डा रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
उनका अनुसार शनिबारको बैठकमा दलहरूबीच मन्त्रालय बाँडफाँडको विषयमा सहमति नजुटेपछि आज पुनः छलफल अघि बढाइएको हो । आइतबार बिहान बसेको बैठकबाट मन्त्रीमण्डलको भागबन्डाबारे टुंगो लगाउने प्रयास भइरहेको नेताहरूले बताएका छन् ।
सत्ता साझेदार दलहरूबीच मन्त्रालय संख्या, जिम्मेवारी र आपसी समन्वयका विषयमा गहन छलफल भइरहेको बताइएको छ । छ दलीय समर्थनमा बनेको प्रदेश सरकारको मन्त्रीमण्डल अझै पूर्ण हुन नसकेको अवस्थामा आजको बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।
स्रोतका अनुसार आजको बैठकबाट सहमति जुटेमा छिट्टै मन्त्रीमण्डल विस्तार हुने सम्भावना रहेको छ । प्रदेश सरकारलाई स्थायित्व दिन र प्रशासनिक कामलाई गति दिन मन्त्रालय भागबन्डा टुंग्याउन आवश्यक रहेकाले सत्ता साझेदार दलहरूबीच दबाब बढ्दै गएको छ ।