राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार आज अपराह्न ३ बजेदेखि शीतल निवासमा उक्त छलफल सुरु हुनेछ। छलफलमा पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन् ।
शीतल निवास स्रोतका अनुसार छलफल मुख्यतः निर्वाचनको वातावरण निर्माण गर्ने विषयमा केन्द्रित हुनेछ ।
यसअघि राष्ट्रपति पौडेलले अन्तरिम सरकार गठनको सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्की र माओवादी अध्यक्ष दाहालसँग भेटवार्ता गरिसकेका छन् । तर कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग भने हालसम्म औपचारिक भेटवार्ता भएको थिएन ।
तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई स्थानहद तोकेर सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको आरोप लगाउँदै कांग्रेस र एमालेले सरकारको आलोचना गर्दै आएका छन् ।
एमाले अध्यक्ष ओलीले अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै प्रतिनिधिसभा पुनःस्थापनालाई प्राथमिकतामा राख्दै आएका छन् ।
प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै कांग्रेस र एमालेले छुट्टाछुट्टै रिट निवेदनसमेत दायर गरिसकेका छन् । कांग्रेसले बहुमत सांसदहरूको हस्ताक्षरसहित मंगलबार पूरक निवेदन दायर गर्ने तयारी गरिरहेको पृष्ठभूमिमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीले शीर्ष नेताहरूसँग निर्वाचनको वातावरण बनाउने विषयमा छलफल गर्न लागेका हुन् ।