एमाले केन्द्रीय कमिटीको बैठकपूर्व अध्यक्ष केपी शर्मा ओलीले केही पदाधिकारी र केन्द्रीय सदस्यसँग “वान टू वान” कुराकानी गरेका छन् । आइतबार पार्टी कार्यालयमा सचिवालय बैठक सिध्याएर भक्तपुर, गुण्डुस्थित निवास पुगेका उनले त्यहीँ केही पदाधिकारीसहित केन्द्रीय सदस्यलाई बोलाएका थिए ।
ललितपुर, झम्सिखेलस्थित रामबाग महलमा आजदेखि शुरु हुने केन्द्रीय कमिटी बैठकमा आफ्ना सरोकारहरुमाथि समर्थन खोज्दै ओलीले उक्त भेटघाट गरेको सहभागी एक केन्द्रीय सदस्यले बताए ।
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रतिवेदन लेख्नुअघि १३ वटा फरक–फरक समूहसँग गरेका छलफलमा प्राप्त सुझावलाई प्रतिवेदनमा हुबहु राख्ने विषयदेखि विधान महाधिवेशन र प्रतिनिधि परिषद्को बैठकसम्मका विषयमा आफ्नो पक्षमा उभिन उनले आग्रह गरेका छन् ।
गुण्डुमा बोलाइनेमध्ये ओलीको पक्षमा खुलेका र उनकै पक्षमा अभिव्यक्ति दिँदै आएका नेताहरु खासै थिएनन् । पदाधिकारीमध्ये राम्रोसँग नखुलेका उपमहासचिव रघुवीर महासेठ, लेखराज भट्ट, सचिव छविलाल विश्वकर्मा, खगराज अधिकारी, पद्मा अर्यालसहितका नेतालाई आफ्नो पक्षमा उभिनका लागि उनले आग्रह गरेका हुन् । स्रोतका अनुसार ती भेटघाट एक्लाएक्लै (वान टू वान) भएका थिए ।
जिल्ला इञ्चार्जको जिम्मेवारीमा रहेका एक केन्द्रीय सदस्यका अनुसार आफ्नो पक्षमा दृढ रहेका केन्द्रीय सदस्यहरूलाई ओलीले शनिबार र आइतबार दिउँसो नै भेटेका थिए । ओलीले कुन(कुन केन्द्रीय सदस्यको धारणा के(के छ भन्ने विषयमा आफू पक्षका विभिन्न जिल्लाका इञ्चार्जसँग मसिनोसँग रिपोर्टसमेत मागेको ती केन्द्रीय सदस्यले बताए ।
त्यसरी मागेका रिपोर्टमध्ये आफ्नो पक्षमा ल्याउन सकिने सम्भावना भएका केन्द्रीय सदस्यलाई आइतबार राति गुण्डुमा बोलाइएको हो । ओलीले पुनर्गठन कार्यदलको प्रतिवेदनमा १३ वटा समूहका सुझाव हुबहु राख्ने नाममा आफ्नो वहिगर्मनका विषय उठेमा प्रतिवाद गरिदिन आग्रह गरेका छन् ।
विशेष विधान महाधिवेशन वा राष्ट्रिय प्रतिनिधि परिषद्का बैठकहरूको आवश्यकता र सान्दर्भिकता नरहेको भन्दै त्यस किसिमका अधिवेशन वा बैठक बोलाइँदा पार्टीभित्रैको एकमना एकतामा असर पुग्ने उनको भनाइ थियो । त्यस पक्षमा बैठकमा दृढतापूर्व उभिइदिन उनले आग्रह गरेका छन् ।