भरतपुर महानगरले चालु आर्थिक वर्षको यो अवधिमा पुँजीगत खर्च ११ प्रतिशत मात्रै गरेको छ ।
पुँजीगत बजेट खर्च:
मंगलबार आयोजित महानगरको १८ औं नगरसभामा उपमेयर चित्रसेन अधिकारीले जानकारी दिए अनुसार, पुँजीगत तर्फ विनियोजन भएका २ अर्ब ५७ करोड ८८ लाख ९७ हजार रुपैयाँमध्ये अहिलेसम्म २८ करोड ५१ लाख ३१ हजार रुपैयाँ मात्र खर्च भएको छ ।
चालु बजेट र आम्दानी:
महानगरले चालु तर्फ २९ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षमा १ अर्ब ६५ करोड १५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकोमा हालसम्म ३७ प्रतिशत प्रगति भएको छ । अहिलेसम्म ६१ करोड ९ लाख २२ हजार रुपैयाँ आन्तरिक स्रोतबाट जुटेको छ ।
पूरक बजेट र जेनजी पुनर्निर्माण:
नगरसभामा उपमेयर अधिकारीले पूरक बजेट वक्तव्यमा जेनजी आन्दोलनबाट भएको क्षतिको पुनर्निर्माण गर्नु र आन्दोलनबाट स्थापित एजेण्डा तथा मान्यता अनुसार सेवा प्रवाहको वातावरण सिर्जना गर्नु मुख्य उद्देश्य भएको बताए ।
जेनजी आन्दोलनबाट क्षति:
भदौ २४ गतेको प्रदर्शनमा आगजनीले महानगरपालिकाको प्रशासकीय भवन प्रयोग नहुने अवस्थामा क्षति पुर्याएको थियो । नगरसभामा मेयर रेनु दाहालले बताए अनुसार, आन्दोलनका पहिलो दिन धेरै बालबालिकाको निधन भयो भने दोस्रो दिन आपराधिक स्वार्थ समूहको घुसपैठले देशका महत्वपूर्ण सम्पदा, पूर्वाधार, घर, उद्योग, व्यवसाय, राजनैतिक दलका कार्यालय र सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।
महानगरका सम्पूर्ण संरचनामा तोड़फोड भएको, कार्यालयका अभिलेख जलेर खरानी बनेको र तीन भवन मर्मत सम्भार नगरी सञ्चालनमा ल्याउन नसकिने अवस्थामा पुगेको छ । साना, मभौला र ठूला गरी ४७ वटा गाडी पूर्णरूपमा जलेर नष्ट भएका छन् ।
आर्थिक मूल्याङ्कन र पुनर्निर्माण:
तोड़फोड तथा आगजनीले महानगरलाई ४९ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ । उपमेयर अधिकारीको संयोजकत्वमा गठन भएको पुनर्निर्माण आवश्यकता पहिचान कार्यदलको सिफारिसअनुसार, वडा र नगरस्तरीय योजनाबाट कटौती गरी १७ करोड ११ लाख रुपैयाँ जुटाइएको छ ।
महानगरका मुख्य आयोजना:
- प्रशासकीय भवन निर्माण: ८५ प्रतिशत भौतिक प्रगति, कुल लागत ५३ करोड ३२ लाख रुपैयाँ । यसै भवनकै सभा हलमा यो नगरसभा भएको हो ।
- गौतम बुद्ध क्रिकेट रंगशाला: ४२ प्रतिशत भौतिक प्रगति ।