सामाजिक सञ्जालमार्फत हिन्दु धर्मावलम्बीहरूविरुद्ध आपत्तिजनक टिप्पणी गरिएको आरोप लगाउँदै राजविराजमा दुई वटा सङ्गठनले शुक्रबार विरोध प्रदर्शन गर्नुका साथै बजार बन्द गराएका छन् ।
सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा राजविराज निवासी अफरोज आलममाथि कानुनी कारबाहीको माग गर्दै राष्ट्रिय बजरङ्ग दल र हिन्दु सम्राट सेना समर्थक कार्यकर्ताहरूले नाराबाजीसहित राजविराज बन्द गराएका हुन् ।
बन्दको प्रभावले राजविराजबाट सञ्चालन हुने छोटो तथा लामो दूरीका यातायात सेवा पूर्ण रूपमा ठप्प भएका छन् । साथै बन्दको आंशिक असर सरकारी कार्यालयहरूमा पनि परेको छ। सप्तरी जिल्ला अदालतले सूचना टाँस गरी एक दिनका लागि सेवाप्रवाह स्थगित गरेको जनाएको छ ।
हिन्दु धर्मावलम्बीहरूको आस्थामा चोट पुग्ने गरी सामाजिक सञ्जालमा अभिव्यक्ति दिने व्यक्तिमाथि कडा कानुनी कारबाही हुनुपर्ने हिन्दु सम्राट सेना सप्तरीका अध्यक्ष सुरेन्द्र दासले बताएका छन् ।
यसअघि राष्ट्रिय बजरङ्ग दल, हिन्दु सम्राट सेना तथा श्रीकृष्ण जन्माष्टमी रथयात्रा आयोजक समिति सप्तरीले बुधबार संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेर प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई कारबाहीको मागसहित ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्रमा राजविराज नगरपालिका–१, रहमतपुर टोल निवासी अफरोज आलमले सामाजिक सञ्जालमार्फत भगवान् श्रीकृष्णलाई लक्षित गर्दै अत्यन्त अश्लील, अपमानजनक तथा घृणायुक्त अभिव्यक्ति सार्वजनिक गरेको उल्लेख गर्दै आवश्यक कानुनी कारबाहीको माग गरिएको छ ।
यता आरोपित आलमले भने उक्त टिप्पणी तीन वर्षअघि भूलबस सामाजिक सञ्जालमार्फत गरिएको बताउँदै सार्वजनिक रूपमा क्षमायाचना गरेका छन् । साथै भविष्यमा यस्ता गतिविधि दोहोर्याउने नगर्ने प्रतिबद्धता समेत सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन् ।